काठमाडाैं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग सञ्चारमन्त्री बाँस्कोटाले गरेकाे कुराकानीकाे अडियाे बाहिरिएसँगै विवादमा तानिएका उनले बिहीबार दिउँसाे राजिनामा दिएका हुन्।
बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका हुन्। संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो। साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषद्मा समेत समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने उसको माग छ। यसअघि कांग्रेसले राष्ट्रिय सभाकाे बैठकसमेत अवरूद्ध गरेकाे थियाे।
बुधबार बाहिएकाे उक्त अडियाेमा बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ् गर्दै गरेको सुन्न सकिन्छ।
यसअघि विवादस्पद अडियाेबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भएकाे थियाे। छलफलका क्रममा प्रचण्डले बाँस्काेटाले राजिनामा दिनुपर्ने धारणा राखेका थिए।