काठमाडाैं– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तुरून्त बर्खास्त गर्न माग गरेकाे छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग सञ्चारमन्त्री बास्कोटाले गरेकाे कुराकानीकाे अडियाे बाहिरिएसँगै काँग्रेसले बास्कोटालाई पदबाट हटाउन माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ।
राष्ट्रियसभाको बिहीबारको बैठक सुरु हुनासाथ नेपाली काँग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे। साथै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने उनको माग छ। लगतै कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन्।
मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ् गर्दै गरेको अडियाे टेप सार्वजनिक भएको थियाे।