चरिकोट– सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १७ औं पटक पसिना आएको छ। भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ।
बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि ७ बजेर २५ मिनेटसम्म एकघण्टा पसिना आएको हो। भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १७ औं पटक पसिना आएको बताए। भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएको उनले बताए।
दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ। भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारले स्थानीयरुपमा क्षमा पूजा अर्चना गरेका छन्।
थप क्षमा पूजाका लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा र्पुयाउने व्यवस्था गरिएको छ। राजाको पालामा पसिना आउँदा भने राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने चलन थियो।
यसअघि २०६२–०६३ को जनआन्दोलनको एक महिनाअघि, तत्कालिन राजा विरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भूकम्प आउनुभन्दाअघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। २०७४ असोज १० गते आएको पसिनापछि देशमा स्थानीय तह र संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको विश्वास गरिन्छ।