काठमाडौं– संसद सचिवालयकी कर्मचारीलाई बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारबाट छुटेका छन्।
यसअघि काठमाडौँ जिल्ला अदालतले महरालाई कसुरदार होइन भन्न नसकिने ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो। उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन्।
उनलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताकार्यकर्ता पुगेका थिए। नेकपा नेता तथा कार्यकर्ताले उनलाई बधाई दिएका छन्। गत असोजमा सभामुखमा रहँदा संसद सचिवालयकै एक कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि महरा पक्राउ परेका थिए। महरालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासले आज सफाइ दिएको हो।