काठमाडौं– सोमबार बिहान राजधानीको प्रदर्शनीमार्ग्स्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीबीच झडप भएको छ।
गत शनिबार दुवै संगठनका विद्यार्थी पिकनिक गएका थिए। आज सोही विषयमा भएको सामान्य विवादले राजतीनिक रुप लिएपछि दुवै संगठनका विद्यार्थीबिच कुटाकुट भएको हो।
विवाद बढ्दै गएपछि प्रहरीले हस्तक्षेप गरेर केही विद्यार्थी नियन्त्रणमा लिएको छ। आरआर क्याम्पस स्ववियु सभापति तपेन्द्र शाहीले सामान्य विवादले राजनीतिक रुप लिएपछि विद्यार्थीबीच झडप भएको जनाए। यस्तै नेविसंघ नेता उत्तम साउँदले नेविसंघ समर्थित विद्यार्थीलाई अखिलका कार्यकर्ताले पिटेको आरोप लगाएका छन्।
प्रहरीले नेविसंघका पुष्कर बाँस्तोला र रामजी बस्नेतसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले क्याम्पसभित्रबाट आक्रोशित विद्यार्थीहरुले ढुंगा प्रहार गरिरहेका छन्। क्याम्पस परिसर अहिले तनावग्रस्त रहेको छ।