दार्चुला – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन्। आज नेपाली सेनाको हेलिकप्टरमार्फत उनी व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन्।
उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्य मानबहादुर धामी, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडालसहित १० जनाको टोली व्यास क्षेत्र प्रस्थान गरेको दर्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।
नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ। दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन तथा दार्चुलास्थित दुर्गादल गुल्मको निरीक्षणको क्रममा उपप्रधानमन्त्री पोखरेल दार्चुला पुगेका थिए।