काठमाडौं– कारोना भाइरसको माहामारी रहेको चीनको वुहान शहरलगायतका क्षेत्रमा रहेका नेपालीको उद्धारकोलागि गएको वाइडबडी काठमाडौं अवतरण भएसँगै विमानस्थलका आन्तरिक र बाह्य उडान अबरुद्ध भएका थिए।
उडान तालिका केही संशोधन गरिएको थियो। विहान ६ बजेसम्म विमानस्थलमा यात्रुहरुलाई समेत प्रवेश गर्न दिइएको थिएन। जसका कारण नियमित रुपमा हुने उडानहरु प्रभावित भए। आइतबार बिहान आन्तरिक तर्फका उडानहरु ३ घण्टासम्म प्रभावित भए। विमानहरुको उडान तालिका संशोधन हुँदा सर्वसाधारणदेखि नेताहरुसम्मले ‘सास्ती’ खेप्नुप¥यो। समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने विमान डिले हुँदा आफ्नै पूर्वसहयात्रीसहित नेताहरुसँग भेटघाट गर्न पाए।
उपत्यका बाहिर जान विहान विमानस्थल पुगेका नेताहरुले समयमै उडान नहुँदा ३ घण्टासम्म विमानस्थलमै विताउनु प¥यो। भट्टराईले आफ्नै पूर्वसहयात्री सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापा (बादल), अर्थमन्त्री युवराज खतिवडा लगायत करिब १० जनाजति नेताहरुसँग एउटै ठाउँमा भेट गर्न पाए।
सामाजिक सञ्जालमा सक्रिय रहने भट्टराईले विमानस्थलमा नेताहरुसँग भएको भेटको फोटो सामाजिक सञ्जाल (ट्विटर) मा शेयर गरिसकेका छन्। नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग भेटको तस्वीर शेयर गर्दै भट्टराईले साईट ट्वीटरमा लेखेका छन्, ‘७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन ! एयरपोर्टमा घण्टौं कुर्दाको फायदा चाहिं सबै पार्टीमा छरिएका साथीहरूसंग भेटघाट र गफगाफ गर्न पाइने ! नकारभित्र सकार भनेको शायद यही हो ! अथवा चित्त बुझाउने मेसो !’