जनकपुरधाम– संस्कार, संस्कृति र जीवनशैलीको पहिचान बढाउने उद्देश्यले आज यहाँ आमाबुबाको पूजन समारोह आयोजना गरियो। राधाकृष्ण योग सेवा केन्द्र जनकपुरधामद्वारा आयोजित सो पूजन समारोहमा करीब ५०१ आमा–बुबालाई छोरा–छोरीले पूजा गरेका थिए।
यसअघि केन्द्रले आदर्श संस्कार शिविरअन्तर्गत सरस्वती मुद्रा, आदर्श जीवनचर्या, मनोविज्ञान, शरीर विज्ञान, आहार र स्मरण बढाउने विधि तथा स्वर विज्ञान योग प्रशिक्षण दिइएको थियो। समारोहमा प्रदेश नं २ का प्रमुख तिलक परियारले वैज्ञानिक आविष्कारसँगै एकातिर सुख प्राप्तिमा वृद्धि भएको देखिएको छ भने अर्को्तिर उपेक्षा, एक्लोपन एवं स्वार्थको चपेटामा परी आमाबुबालाई घृणा गर्ने व्यवहारमा वृद्धि हुँदै जानु चिन्ताको विषय हो भने।
उनले पश्चिमी सभ्यताको रङ्गीचङ्गीमा आफ्नो सभ्यतालाई बिर्सिँदै पारिवारिक र सामाजिक विचलन र अशान्तिको सिर्जना गरिएको प्रसङ्ग उल्लेख गरे। प्रदेश प्रमुख परियारले भनाइ र गराइमा देखिएको भिन्नता संस्कार तथा संस्कृतिको उपेक्षा भएको बताएका छन्। प्रदेशसभा सदस्य रामसरोज यादव र परमेश्वर साहले आमाबुबाकै सेवामा देवता र धर्म भएको प्रसङ्ग उल्लेख गर्दै संस्कृति, संस्कारलाई उपेक्षा गरिएका कारण पारिवारिक कलह र आपराधिक प्रवृत्तिमा वृद्धि भएको बताएका छन्।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले आमाबुबाको सेवा नगरी वृद्धाश्रममा राख्ने प्रवृत्ति देखापर्नु विडम्बना भएको धारणा राखे। केन्द्रका योगगुरू विनय भाइले संस्कार, संस्कृति एवं जीवनशैलीको पहिचान मण्डित गर्न यस किसिमको जागरणमूलक अभियान घर–घरमा खाँचो रहेको उल्लेख गरे। (रासस)