कोलकाता, २७ माघ – भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन्।
पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ। विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा खुल्न सकेको छैन।
पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातादेखि १ सय २२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उनको हत्या भएको हो। गोली प्रहार भएको केही समयमै उनलाई नजिकैको अस्पतालमा पुर्याइएको भए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए।
सरस्वती पूजाको कार्यक्रममा सहभागी भएको बेला उनीमाथि आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। ‘कार्यक्रमका लागि बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम गरिने भएपछि उनी तल झरेका थियो, त्यसलगत्तै उनीमाथि आक्रमण गरी हत्या भयो,’ प्रहरीले जनाएको छ।
त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्याको आरोप भारतीय जनता पार्टीमाथि लगाएका छन्। तर जनता पार्टीले भने उक्त आरोप अस्वीकार गरेको छ।(रासस)