काठमाडौं – नेपाल प्रहरीको नायव निरीक्षक (सई) हुँ भन्दै ठगी गर्ने १ जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले रामछापको मन्थलि नगरपालिका–२ टेकनपुर घर भइ हाल काठमाडौंको बसुन्धरा बस्दै आएका २६ वर्षीय राजु कार्की लाइ कलंकीबाट पक्राउ गरेको हो।
अपराध महाशाखाका अनुसार कार्कीले हालै मात्र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ घर भइ काठमाडौंको मनहरा बस्ने लक्ष्मण गिरीलाई ठगी गरेका थिए। कार्कीले आफू प्रहरीको सई भएको र हाल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताएका थिए। आफ्नो बैंक खातामा धेरै रकम जम्मा भएकाले कतैबाट छानबिन भएमा अप्ठेरोमा पर्न सक्ने भन्दै उनले गिरीको बैंक खातामा ३० लाख जति रकम जम्मा गरिदिने प्रलोभन देखाएका थिए।
उक्त रकम जम्मा गर्नु अगाडि आफूहरुबीच दोहोरो कारोबार भएको देखाउनुपर्ने भन्दै कार्कीले गिरीसँग ३ लाख रुपैयाँ मागेका थिए। गिरीले उनको कुरा मानेर कार्कीलाई ३ लाख रुपैयाँको चेक काटेर दिएका थिए। तर, कार्की भने ३ लाख रुपैयाँको चेक साटेर फरार भएका थिए। रकम निकालेको केही समयपछि मात्रै आफू ठगिएको थाहा पाएका गिरीले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए।
प्रहरीका अनुसार कार्कीले गिरीबाट ठगी गरेको लिएको रकम चितवनमा रहेका एकजना आफन्तको बिहेमा सरिस हुनका लागि कोट–पाइन्टलगायत कपडा किन्न खर्च गरेको बताएका छन्। बचेको रकम काठमाडौंको ठमेल लगायत क्षेत्रमा गएर खर्च गरेको तथा मोटरसाइकल मर्मत गरेको पनि उनले प्रहरीलाई बयान दिएका छन्। प्रहरीले उनको साथबाट नगद ७ हजार ५ सय रुपैयाँ बा ९१ प ७४४६ नम्बरको केटिएम डुक २०० सीसीको मोटरसाइकल, हेल्मेट लगायत सामग्री बरामद गरेको छ।