धनगढी, २५ माघ – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को ट्रफी सार्वजनिक गरिएको छ। शुक्रवार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै आयोजक धनगढी क्रिकेट एकाडेमीले ट्रफी सार्वजनिक गरेको हो।
आयोजक धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष सुवाश शाही, प्रतियोगिताका गुडविल एम्बासडर बिश्व प्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स र छ वटै टिमका क्याप्टेनको सहभागितामा ट्रफी सार्वजनिक गरिएको हो ।
देशकै सर्वाधिक राशिको डीपीएल माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुदैँछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले सहभागिता जनाउनेछन् ।
कूल पुरस्कार राशी ६० लाख रहेको प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ, उपविजेताले १२ लाख रुपैयाँ, तेस्रो हुनेले ४ लाख रुपैयाँ तथा चौथो हुने टोलीले २ लाख रुपैयाँ पाउँनेछन् ।