काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई भ्रष्टाचारसम्बन्धी एउटा मुद्दाको अभिलेख लिएर १५ दिनभित्रै आफैं इजलासमा उपस्थित हुन आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको बिहीबारको संयुक्त इजलासले आयल निगमका पूर्व महाप्रवन्धक युवराज शर्माको भ्रष्टाचार सम्बन्धी मुद्दा चलाउँदा अनुसन्धान अधिकृत तोक्ने सम्बन्धी निर्णय गरिएको सक्कल फाइलसहित हाजिर हुन भनेको हो।
नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेख अख्तियारले पटक पटक ताकेता गर्दा पनि दिन नसकेपछि अदालतले उक्त मुद्दाको कागजात अभिलेख खोजी १५ दिनभित्र उपस्थित हुन आदेश दिएको हो।
आदेशमा भनिएको छ ‘सामान्य प्राविधिक कारण देखाई अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृतिलाई उचित ठान्न सकिन्न।’ यसअघि पनि आयोगका सचिवलाई सम्बोधन गरि २०७५ कात्तिक ८ र फागुन २३ गते यस्तै आदेश जारी भएको थियो।