काठमाडौं– अख्तियारले चावहिलस्थित मालपोत कार्यालयका सहयोगी राजेन्द्र बस्नेत (पियन) लाई झण्डै ९ करोड अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ। १९ कात्तिक २०४५ मा कार्यालय सहयोगीको रुपमा सरकारी सेवा प्रवेश गरेका बस्नेतसहित उनको परिवारका नाममा ९ करोड ७३ लाख ३१ हजार ९ सय ८६ रुपैयाँ भेटिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलका अनुसार ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ मात्रै बैध आय भएको देखिएको छ। हाल निलम्बन रहेका बस्नेत मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी राजश्व रकम हिनामिना गरेको प्रकरणमा अख्तियारको टोलीबाटै पक्राउ परेका थिए। अख्तियारको टोलीले बस्नेतबाट ११ लाख रुपैयाँ समेत बरामद गरेको थियो।
बिहीबार अख्तियारले बस्नेत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ। अख्तियारका अनुसार उनले आफ्नी आमा टुकु कुमारी बस्नेतका नाममा रहेको जग्गामा घर निर्माण गर्न ६२ लाख ९० हजार ५ सय ४८ रुपैयाँ खर्च गरेका भेटिएको छ। यस्तै, श्रीमती सीता बस्नेतको नाममा मात्रै ६ करोड ४७ लाख २५ हजार १ सय ४५ रुपैयाँ बराबरको घर तथा जग्गा खरिद गरेका छन्।
अख्तियारको अनुसन्धानबाट बस्नेतले ऋण चुक्ता गर्दा ३९ लाख ७६ हजार २ सय ९०, छोराछोरीको शैक्षिक खर्चमा १७ लाख ८६ हजार ३ सय २५, शेयर खरिदमा १८ हजार, विभिन्न कम्पनीका बीमा पोलिसी खरिद गर्दा ५ लाख ७० हजार ४ सय ९०, सवारी साधन खरिदमा ३७ लाख ३१ हजार, दाजुभाईलाई अंश वापत नगद दिन १ करोड ५० लाख, पूँजीगत लाभकरमा ३ लाख ४७ हजार ४०,१८ हजार रुपैयाँ खर्च गरेको देखिएको छ।
त्यसैले उनलाई २ वर्षसम्म कैद र विगोजति नै जरिवाना गराउन माग गर्दै अख्तियारले विशेषमा मुद्दा हालेको हो। त्यसमाथि उनले भ्रष्टाचार गरी कमाएको ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ जफत गर्न पनि अख्तियारको माग छ। अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि बस्नेतकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत, भतिजा कृपा बस्नेतविरुद्ध समेत मुद्दा दायर गरेको छ।