गौर – तराई–मधेसमा मधेसी नेशनल पार्टीको नाममा आतंक मच्चाउने भूमिगत समूहका एक जना भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय राज्य बिहारको मोतिहारी जिल्ला घर भएका चाँद अलीलाई रहेका छन्। नेपाल भारत सीमा क्षेत्र हुँदै बन्जरहा जोड्ने बकैया नदीको बाँधबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका ३ जनाले प्रहरीतर्फ फायरिङ गरी भारततिर भागेका थिए।
मोटरसाइकलमा आएका युवकले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियाे। गोली लागेर मोटरसाइकलबाट लडेपछि प्रहरीले अलीलाई पक्राउ गरेको हो। घाइते अलीको दायाँ खुट्टामा गोली लागेको छ। उनको गौर अपतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल, खाली खोका र लोड गरिएको एक थान गोली बरामद गरेको छ।
अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले बताएकाे छ।