बेइजिङ - चीनस्थित कोरोना भाइरस सङ्क्रमित क्षेत्रमा रहेका नेपालीहरूले नेपाल सरकारले पर्याप्त कूटनीतिक पहल गरेर आफूहरूलाई तत्कालै घर फर्काउनुपर्ने माग गरेका छन्।
कोरोनाभाइरस सङ्क्रमण सुरु भएको र सबैभन्दा बढी प्रभावित भएको चीनको वुहान सहरमा करिब एक सय नेपालीहरू रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।
वुहानस्थित एक विश्वविद्यालयमा अध्ययनरत दोलखाका विदुर पाठकले नेपालबाट अध्ययन र कामका लागि वुहान पुगेर बसेकाहरूमा अहिले चिन्ता बढेको बताए।
उनल भने, "यहाँ खानेकुराको पनि समस्या भइसक्यो। फलफूल र तरकारीको अभाव छ। पाइए पनि धेरै मूल्य तिर्नुपर्छ। हाम्रो दूतावास र चीन सरकारले मिलेर हामीलाई यहाँबाट स्वदेश फर्काउलान् भन्ने आशामा बसेका छौँ।"
उनले त्यहाँ रहेका नेपालीहरूले घर फर्किन चाहेको तर नेपाल सरकारले ठोस कदम नचाल्दा अन्यौलमा रहेको बताए।
पाठकले भने, "नेपालमा परिवारलाई पनि चिन्ता भइरहेको छ। हाम्रो दूतावासले धैर्य गर्नु भनेको भए पनि सोचेजस्तो अवस्था यहाँ छैन।"
उद्धारको माग
वुहानमै अध्ययनरत काठमाण्डूकी श्रद्धा श्रेष्ठले पनि अमेरिका र जापानले आफ्ना नागरिकहरूको उद्धार गर्न जहाज पठाउन लागेकाले नेपालले पनि त्यस्तै व्यवस्थापन गर्नुपर्ने बताइन्। मङ्गलवार भारतले आफ्ना नागरिकलाई उद्धार गर्ने व्यवस्था गरेको खबर आएपछि नेपाली विद्यार्थी पनि त्यस्तै आशामा बसिरहेको उनले जानकारी दिइन्।
श्रेष्ठले भनिन्, "यहाँ हाम्रो खानेकुरा पनि सकिएको थियो। तर आज विश्वविद्यालयले हामीलाई चामल, तेललगायतका खाद्यान्नहरू उपलब्ध गराएको छ। यहाँका नेपाली विद्यार्थीहरूले दूतावासमार्फत नेपाल फर्किनका लागि पहल गरिरहेका छन्।" वुहानका विश्वविद्यालयमा अध्ययनरत नेपाली र भारतीय विद्यार्थीहरू एक अर्काको सम्पर्कमा रहेको श्रेष्ठ बताउँछिन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले मङ्गलवार ट्वीट गर्दै हुबे प्रान्तमा रहेका भारतीय नागरिकलाई उद्धार गर्ने जानकारी दिएपछि नेपाली विद्यार्थीले नेपाल सरकारले पनि त्यस्तै व्यवस्था गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राखेको बताएका छन्।
वुहानमै रहेका भक्तपुरका दिवंगर खोटेजाले सरकारले जहाजको व्यवस्था गरिदिए आफूहरूले आफ्नै खर्चमा भए पनि नेपाल फर्कन चाहेको बताए।
दूतावासको भनाइ
बेइजिङस्थित नेपाली दूतावासले भने हालसम्म चीनमा कोही पनि नेपालीमा कोरोनाभाइरसको सङ्क्रमण नदेखिएको जनाएको छ। चीनस्थित नेपाली राजदूत लीलामणि पौड्यालले एउटा सन्देश जारी गर्दै नेपालीहरूको सहायताका लागि चीनका विभिन्न पाँचवटा सहरहरूमा हटलाइन सेवा सुरु गरेको जनाएका छन्।
उनले वुहान सहित अन्य सहरहरूमा रहेका नेपालीहरूको वीच्याट समूह बनाएर त्यसैमार्फत पछिल्ला विवरणहरू लिने र आवश्यक सहायताको प्रयास भइरहेको पनि सन्देशमा उल्लेख गरेका छन्। पौड्यालको सन्देशमा भनिएको छ, "हुबे/वुहानमा रहेका नेपालीहरूका सन्दर्भमा यो दूतावास नेपाल सरकार र चीन सरकारका सम्बन्धित निकायहरूसँग सम्पर्कमा छ।"
"नेपाल सरकार हुबे/वुहानमा रहेका नेपालीहरूको हितमा आवश्यक कदम चाल्न तयार रहेको व्यहोरा सार्वजनिक भइसकेको सन्दर्भमा नेपाल सरकार र नेपाली दूतावास यहाँहरूको सुरक्षा र समग्र हितका लागि हरदम प्रयत्नशील र क्रियाशील रहेको कुरामा विश्वास्त रहनुहुन हार्दिक अनुरोध गर्दछु।"
उनले वुहानमा रहेका कसैको प्रवेशाज्ञाको अवधि सकिन लागेको भए पनि दूतावासले सहायता गर्ने सन्देशमा उल्लेख गरेका छन्।
परिवारलाई तनाव
तर वुहानमा रहेका नेपालीहरूले नेपालस्थित आफ्ना परिवारका सदस्यहरूले नियमित सम्पर्क गरी चिन्ता व्यक्त गरिरहेको बताए। उनीहरूले कोरोनाभाइरसबारे आइरहेका विभिन्नखाले समाचारहरूका कारण परिवारमा थप चिन्ता बढाएको जनाए। चीनले हाल त्यस क्षेत्रबाट नेपालीहरूलाई उद्धार गर्नका लागि अनुमति नदिएको दूतावासका अधिकारीहरूले यसअघि बीबीसीलाई बताएका थिए।
चिनियाँ अधिकारीहरूले कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनीहरूका अनुसार सङ्क्रमित व्यक्तिको सङख्या दुईगुनाले बढेको छ। सोमवारसम्म २,८३५ व्यक्ति उक्त भाइरसबाट पीडित भएको तथ्याङ्क थियो। तर मङ्गलवार कम्तीमा ४,५१५ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।
बिबिसीबाट