बारा– प्रहरीले फोन गरेर महिलालाई जिस्क्याउने २ युवालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका– २ बस्ने २० बर्षीय अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने १८ बर्षीय इन्दल यादव रहेका छन्।
पुस २० गतेदेखि आफूलाई फोन गरेर जिस्काएको र अपशब्द प्रयोग गरेको भनी कलैया उपमहानगरपालिका– १८ को एक महिलाले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। फोन गरी जिस्क्याउने र पटक पटक अपशब्द प्रयोग गरी धम्कीसमेत दिएको उजुरीमा उल्लेख छ।
उनीहरुलाई प्रहरीले कलैया–१ बाटै नियन्त्रणमा लिएको थियो। प्रहरीको अनुसार अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद लिएर उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे छ।