एजेन्सी, २४ माघ – जर्मन चान्लसर एन्जेला मर्केलले व्यक्तिका गोपनीय एवं निजी विवरणहरु चिनियाँ कम्पनीमार्फत चीन सरकारलाई उपलब्ध नगराउन विशेष निगरानी गर्नुपर्ने बताएकी छन्।
चिनीयाँ विशाल प्रविधि कम्पनी हुवावेले बनाएका उपकरणबाट सुरक्षा चुनौती बढेको भन्दै अमेरिका समेतका पश्चिमा मुलुकबाट चौतर्फी आलोचना भइरहेको समयमा मर्केलको उक्त भनाइ आएको हो।
टोकियोको कायो विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै चान्सलर मर्केलले हुवावेका उपकरण प्रयोग गर्ने बारेमा जर्मनीमा ठूलो बहस चलिरहेको बताइन्। उनले पाँचौँ पुस्ताको दूरसञ्चार सञ्जाल ९५जी० निर्माण गरिरहेको हुवावेको सेवाका विषयमा चलिरहेको विश्वव्यापी बहसले सर्वत्र शङ्का उब्जाएको पनि बताइन्।
जर्मनीले अझै पनि विवेकी अवधारणा अवलम्बन गरिरहेको छ। जर्मनीको सूचना प्रविधि निगरानी निकायले हुवावेले बेइजिङका लागि जासुसी गर्न आफ्ना उपकरण प्रयोग गरेको भन्ने ठोस प्रमाण नपाइएको जानकारी दिएको छ।
तर मर्केलले हुवावेमा सङ्ग्रह हुन सक्ने विवरणहरु चीन सरकारलाई उपलब्ध नगराएको सुनिश्चित गर्नुपर्ने बताइन्। उनले कम्पनीका विवरणहरु सरकारी निकायले प्राप्त नगरेको निश्चित गर्न उपयुक्त विधिहरु निर्माण गर्न आवश्यक छ भनिन्।
हुवावे अहिले दूरसञ्चार उपकरण र मोबाइल नेटवर्क निर्माणमा विश्वकै ठूलो दूरसञ्चार कम्पनी भइसकेको छ। खासगरी हुवावेका उपकरणहरु विकासशील मुलुकहरुमा बढी बिक्री भएका छन्। कम्पनीले सस्तोमा दूरसञ्चार नेटवर्कका सामग्री उपलब्ध गराउने भएकाले पनि विकासशील मुलुकमा हुवावेको बजार तीव्र रुपमा विस्तार भएको हो।
तर पश्चिमा धेरै मुलुकहरु सुरक्षा खतरालाई लिएर हुवावेका विरुद्धमा उभिएका छन्। खासगरी, चीनको कानुनमा रहेको मुलुकभित्रका सबै कम्पनीले गुप्तचर निकायलाई सहयोग गर्नुपर्ने अनिवार्य प्रावधानका कारण पश्चिमा मुलुकहरु हुवावेको सेवाप्रति सशंकित भएका हुन्।
हुवावेले आफ्ना उपकरण जासुसी कार्यहरुमा प्रयोग गर्न नसकिने भन्दै पश्चिमा मुलुकको दाबीलाई अस्वीकार गरिरहेको छ। जर्मन चान्सलर मर्केलले भनिन्, ‘यो विषयमा निरन्तर बहस हुनु जरुरी छ र यस सम्बन्धमा संयुक्तराज्य अमेरिकासँग पनि छलफल आवश्यक छ।’
उनले बढ्दो आर्थिक समृद्धिको अर्थ चीनले शान्तिपूर्ण विश्व निर्माणका लागि आफ्नो काँधमा बढी दायित्व छ भन्ने पनि बुझ्नु आवश्यक रहेकाे बताइन्।