एजेन्सी– चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्दै गएको छ। सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्याङ्कभन्दा धेरै संक्रमित भेटिएको अनुसन्धानकर्ताले बताएकाे बीबीसीले जनाएको छ।
४१ जनामा नयाँ भाइरस पुष्टि भएपछि बेलायती वैज्ञानिकले भने झण्डै १ हजार ७ सय नागरिक संक्रमित भएको अनुमान गरेका छन्। गएको डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको भाइरसबाट अहिलेसम्म दुई जनाको ज्यान गैसकेको छ। नयाँ भाइरसबाट संक्रमितको संख्या बढ्दै गएपछि चीनले विमानस्थलमा चेकजाँचमा कडाइ गरेको छ।
यो भाइरस मानिसबाट मानिसमा नसर्ने चिनियाँ अधिकारीले दाबी गरेका छन्। तर वुहानको वन्यजन्तु पाइने बजारमा पुगेको संक्रमित जनावरको सिफुडले यो भाइरस फैलाएको उनीहरुको भनाई छ। यो भाइरसको नमुना परीक्षणको लागि प्रयोगशालामा पठाइएको छ।
चिनियाँ अधिकारी र विश्व स्वास्थ्य संगठन डब्लुएचओले यो संक्रमण कोरोनाभाइरस भएको निष्कर्ष निकालेका छन्। कोरोनाभाइरस रुघाखोकी हुँदै गम्भीर रोग निम्त्याउने भाइरसको ठूलो समूहको एउटा सदस्य रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो यसअघि मानवमा पहिचान गरिएको थिएन। तर यो जनावर र मानिसबीच सर्ने भाइरस हो।