धनुषा– धनुषाको जनकपुरधामस्थित जिरोमाईलमा प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतसहित मन्त्रीहरुको तस्बिर अंकित व्यानरमा जुता चप्पल हान्नेको आराेपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
विकासे कामको भुक्तानी नदिएको भन्दै मन्त्रीहरुको तस्बिर अंकित व्यानरमा जुता चप्पल हान्ने उपभोक्ता संघर्ष समितिका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हाे।
भुक्तानी नदिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीहरुविरुद्ध प्रदर्शन गरीरहेका संघर्ष समितिका पदाधिकारीले जुत्ता चप्पल प्रहार गरेका थिए। प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई नियन्त्रणमा लिएको छ। यसअघि, उनीहरुले गत आर्थिक वर्षमा सम्पन्न गरेको योजनाहरुको भुक्तानी नदिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालय तालाबन्दी गरेका थिए।
यसअघि, भूक्तानीकै विषयलाई लिएर प्रतिपक्षी दल तथा सत्ता पक्षकै सांसदहरुले प्रदेशसभा बैठक समेत अवरुद्ध गरेका थिए। सोही कारण प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित गरिएको छ। गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत बाँडिएका योजनाहरुको करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।