सर्लाही– ईलाका प्रहरी कार्यलय हरिपुरले लुटपाट कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बसबरिया गाउँपालिका–४, धनगढा गुनर्वा टोलका १९ वर्षीय रोहितकुमार साह रहेका छन्।
उनलाई लुटपाट गर्दै गर्दा जिल्लाको कविलासी नगरपालिका–५ रनियारबाट पक्राउ गरिएको हो। साहलगायत अन्य ५ जनाले बुधबार राती एक जनालाई लुटेका थिए। माघी मेला भरेर घर फकिँदै गरेका एक जनालाई लुटेलगत्तै प्रहरीले साहलाई नियन्त्रयमा लिएको थियो भने उनको सहकर्मीहरु फरार भएका थिए।
प्रहरी इन्स्पेक्टर विक्रम शाहका अनुसार लुटेराले ती व्यक्तिको साथबाट पैसा र मोबाइल लुटेका छन्। लुटिएको सामान फरार रहेका व्यक्तिसँग रहेको र उनीहरुको तीव्र रुपमा खोजि भइरहेको इन्स्पेक्टर शाहले जानकारी दिएका छन्।
लुटेराहरु दुईओटा मोटरसाइकलमा आएको बताइएको छ। लुटपाटमा प्रयोग गरिएको बीआर ३० भी ८३०७ र बीआर ३० यू ०७५९ नम्वरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिइएको छ। पछिल्लो समयमा लुटपाटका घटनाहरु बढिरहेको अवस्थामा प्रहरीले सुरक्षा व्यवस्थालाई थप कडा बनाएको इन्स्पेक्टर शाहले बताएका छन्।