एजेन्सी– अष्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा मेलबर्न स्टार्सले नवौं जित निकालेको छ। आफ्नो दशौं खेलमा पर्थ स्कोर्चर्सविरुद्ध मैदान उत्रिएको मेलबर्नले पर्थलाई ८ विकेटले पराजित गरेको हो।
पर्थले दिएको ८७ रनको झिनो विजयी लक्ष्य मेलबर्नले १२ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको हो। मेलबर्नका बलरहरु हाबी भएको खेलमा पर्थले १३.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८६ रन बनाएको थियो।
मेलबर्नको फराकिलो जितमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शानदार प्रदर्शन गरे। आक्रामक बलिङ गरेका सन्दीपले ३ ओभरमा मात्र ७ रन दिँदै २ विकेट लिए। व्यक्तिगत पहिलो ओभरमा ३ रन खर्चिएर विकेटविहिन भएका सन्दीप दोस्रो ओभरमा पनि ४ रन दिँदै विकेट लिन असफल रहेका थिए।
व्यक्तिगत तेस्रो ओभरमा भने उत्कृष्ट कमब्याक गर्दै उनले विना कुनै रन दिई लगातार २ विकेट लिए। १० खेलमध्ये ९ खेलमा जित निकालेकाे मेलबर्न स्टार्स लिगकाे शीर्षस्थानमा छ।