काठमाण्डौ–नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका ६० लाख मुल्य बराबरको ६१ बोरा कपडासहित एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ९६०५ नंको कन्टेनर जाँचका क्रममा ६१ बोरा कपडा लुकाएर ल्याएको अवस्थामा आज बिहान नियन्त्रणमा लिएको हो।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले मकवानपुरका ४२ वर्षका आनन्द लामाले भन्सार छलेर ल्याएको कपडा बरामद गरिएको जानकारी दिए।
कन्टेनर गाडीमा मकैको बोराभित्र लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएका हौँ, उनले भने। उक्त सामानको मूल्य रु ६० लाख बराबर रहेको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ।रासस