काठमाडौं– भारतको दिल्लीबाट चोरी गरी ल्याएको ६५ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन्। साे रकमसहित उनीहरूलाइ कैलालीबाट पक्राउ गरिएकाे हाे।
प्रहरीले उनीहरूकाे साथबाट थप एक लाख नेपाली रुपैयाँ पनि बरामद गरेको छ। पक्राउ पर्नेमा बाजुराको बूढीगङ्गा नगरपालिका–१, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा रहेको प्रहरीले जनाएको छ।
कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार जहरसिंह र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए। मंसिर ४ गते नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट रकम चोरी गरेर फरार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी बस्नेतले बताए। चोरी भएको रकमबारे भारतीय राजदूतमार्फत नेपाल प्रहरीलाई जानकारी गराइएको थियो।
प्रहरीले कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्डो खनी टिनको बाकस गाडिएको अवस्थामा रकम फेला परेको हो। पक्राउ परेका तीनै जनालाई कैलाली प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हाे।