काठमाडाैं– बि एण्ड सी मेडिकल कलेजका संस्थापक दुर्गाप्रसाद प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष रहेका श्रीकृष्ण गिरीवरुद्ध उजुरी दर्ता गराएका छन्। गिरीले भ्रष्टाचार तथा घुस लिने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै प्रसाईंले सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका हुन्।
गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुस लिई अकुत सम्पत्ति आर्जन गरको प्रसाईंले उजुरीमा उल्लेख गरेका छन्। उजुरीमा अवैधानिक रुपमा नातेदारका नाममा जम्मा गरिएको सम्पत्ति जफत गर्न मागसमेत गरिएको छ।
गिरीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष हुन योग्यता नै नपुगेपछि झुठा विवरण पेश गरी नियुक्ति लिएको र एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न दिएको निवेदनमा गिरीले २० करोड घुस मागेको प्रसाईँको आरोप छ।