एजेन्सी, २२ माघ – उत्तर कोरियाका लागि अमेरिकी विदेशदूत स्टेफन बाइगनले उत्तर कोरिया–अमेरिका शिखर बैठकको तयारीका सम्बन्धमा छलफल गर्न बुधबार प्योङयाङको भ्रमण गर्ने भएका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विशेषदूत बाइगन बुधबार सियोल हुँदै उत्तर कोरिया प्रस्थान गर्नेछन्। उनले प्योङयाङमा उत्तर कोरियाली नवनियुक्त समकक्षी कीम ह्योक–चोनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। कीम यसअघि स्पेनका लागि उत्तर कोरियाली राजदूत थिए।
दुवैबीच राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ उनबीचको दोस्रो शिखर बैठकका बारेमा छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ।
दुई कुटनीतिक व्यक्तित्वबीच गत वर्ष जुनमा सिंगापुरमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच भएका सहमतिहरुको कार्यान्वयन प्रगतिका बारेमा पनि छलफल हुनेछ।
विदेश मन्त्रालयको वक्तव्यमा दुवै शीर्ष नेतृत्वबीच भएको उत्तर कोरियामा पूर्ण आणविक निःशस्त्रीकरण गर्ने, द्विपक्षीय सम्बन्धलाई रुपान्तरण गर्ने तथा कोरियाली प्रायःद्वीपमा दिगो शान्ति स्थापना गर्ने विषयलाई अमेरिकाले उच्च महत्व दिएको उल्लेख छ।
आगामी दोस्रो शिखर बैठकमा उत्तर कोरियाको आणविक अस्त्र एवं ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पूर्ण रुपमा बन्द गर्नेबारेमा ठोस सहमति हुने दुवै पक्षले अपेक्षा गरेका छन्।
यद्यपि, दोस्रो शिखर बैठकको स्थान र मिति भने सार्वजनिक गरिएको छैन, तर भियतनामले दा नाङ वा हनोईमा शिखर बैठक गर्नेबारेमा प्रस्ताव गरेको छ। (रासस)