एजेन्सी – इरानमा सरकारविरोधी आन्दोलन चर्किदै गएको छ। आइतबार राति पनि राजधानी तेहनरानसहित इरानका विभिन्न सहरमा सरकारविरुद्ध प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे छ।
इरानी सेनाले अमेरिकी बमवर्षक ठानेर युक्रेनी विमानमाथि मिसाइल हान्दा १ सय ७६ जनाको ज्यान गएको थियो। जसमा धेरैजसो इरानी नै परेका थिए। त्यसैगरी तेहरानको आन्दोलनमा ‘अमेरिकालाई शत्रु करार गरे तिनले हामीलाई झुक्याइरहेका छन्। हाम्रो शत्रु अन्त हैन, यहीँ इरानमै छ,’ भन्ने नराबाजीका साथ त्यहाँका सर्वोच्च नेता अयोतोल्लाह खमेनीविरुद्ध पनि नारावाजी भईरहेको छ।
मिसाइल आक्रमणबारे सुरूमा झुट बोलेको सरकारले त्यसको दुई दिनपछि ‘झुक्किएर मिसाइल हानेको’ वयान दिएपछि सरकारविरुद्ध सर्वसाधारणको आक्रोश चुलिएको हो। ‘मलाई त त्यो घटना सम्झिँदै पनि दुस्ख लाग्छ,’ तेहरानका एक सर्वधारणले भने, ‘जब म मृतकको परिवारलाई सम्झन्छु, सरकारको काम सम्झेर लज्जित हुन्छु।’ आइतबार तेहरानबाट प्रकाशित एक दैनिक पत्रिकाले ‘जनताको माग’ भन्दै सरकारलाई ’माफी माग्न र राजीनामा दिन’ माग गरेको छ।
इरानी नेतृत्वलाई सम्बोधन गर्दै ट्विट गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आन्दोलनकारीमाथि आक्रमण नगर्न’ भनेका छन्। उनले लेखेका छन्, ’संसारले हेरिराखेको छ, झनै महत्त्वपूर्ण कुरा, अमेरिकाले हेरिराखेको छ।’ सरकारविरुद्ध सल्किएको आगोमा ‘घिउ थपेको’ भन्दै इरान सरकारले शनिबार बेलायती राजदूतलाई केहीबेर नियन्त्रणमा समेत लिएको थियो।