एजेन्सी – अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन्। घटनामा परी ज्यान गुमाएकामध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ।
त्यसैगरी ओक्लाहोमामा पनि बाढी र बर्षासँगै आँधी आएको थियो। त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारी साधनहरु बाटोमै रोकिएका थिए। बृद्धबृद्धाहरुको एउटा जोडी शनिबार लुइसियानानजिकै शनिबार मृत अवस्थामा भेटिएका छन् भने अर्का एक जनाको इओवामा ज्यान गएको छ। आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौ घरहरुमा विद्युत सेवा अवरुद्ध भएकाले लाखौ मानिसहरु विद्युत सेवा विहीन अवस्थामा रहेका छन्।
त्यसैगरी कतिपय राजमार्गहरु बन्द भएका छन्। विषेश गरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन्। त्यसैगरी सिकागोका दुई अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उड्ने १२ सयभन्दा बढी उडान सेवा स्थगित भएको अधिकारीहरुले जनाएका छन्। विमानस्थलका अधिकारीहरुका अनुसार ओहारे अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट मात्रै ९ सय ५० भन्दा बढी उडान स्थगित भएका हुन्।
शनिबार बिहानैदेखि आइतबार दिउसोसम्मका सेवाहरु बन्द गरिएको उनीहरुले जानकारी दिएका छन्। शनिबार रातभरी र बिहानसम्म पनि बर्षा भएको उनीहरुले बताएका छन्।