एजेन्सी– भारत र पाकिस्तानका सेनाबीच भनाभनको अवस्था सिर्जना भएको छ। भारतीय सेनाका नवनियुक्त प्रमुख मनोज मुकुन्द नरवणेले संसदले निर्देशन दिएमा पाकिस्तान शासित काश्मीर नियन्त्रणमा लिन सेनाले कदम चाल्न सक्ने बताएका थिए। त्यसलगत्तै पाकिस्तानी सेनाले त्यसमा आपत्ति जनाएको छ।
पाकिस्तानी सेनाका प्रवक्ताले भारतीय आर्मी चिफले लाइन अफ कन्ट्रोल (एलओसी) पार गरेर सैन्य कारवाही गर्ने भनी दिएकाे धम्की उनको नियमित बयानबाजीको हिस्सा भएकाे बताएका छन्। त्यस्तै प्रवक्ताले भारतमा चलिरहेको आन्तरिक उथलपुथलबाट मानिसको ध्यान हटाउन सकियोस् भनी यसाे गरिएकाे आराेप लगाएका छन्।
ट्विटमार्फत प्रवक्ताले पाकिस्तानको सेना कुनै पनि किसिमको भारतीय आक्रमणको जवाफ दिन पूरा हिसाबले तयार रहेकाे जनाएका छन्। यसअघि भारतीय सेनाका प्रमुख नरवण्ले शनिबार नयाँ दिल्लीमा आयोजित आफ्नो पहिलो पत्रकार सम्मेलनमा भारतीय संसदले यदि पाकिस्तान अधिनस्थ काश्मीर पनि भारतमा चाहन्छ र यसबारेमा कुनै आदेश आउँछ भने त्यसकाे उचित कारवाही गर्ने बताएका थिए।