काठमाडौं– दशरथ रंगशालामा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) देखि छैटौं चरणको खेलहरु सुरु हुँदैछ। छैटौं चरणको पहिलो दिन दुई खेल हुनेछ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा मध्यान्ह १२ बजे सानमिगेल मछिन्द्र क्लब र प्रभु जावलाखेल युथ क्लब तथा दोस्रो खेलमा मनाङ–मर्स्याङ्दी क्लब र यति हिमालयन शेर्पाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ। लिगमा अपराजित रहेको मछिन्द्र र जावलाखेलबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
लिग जित्ने योजना बनाएको मछिन्द्रलाई उपाधि जित्ने सम्भवना जीवितै राख्न जावलाखेललाई पराजित गर्नुपर्ने हुन्छ । बराबरीमा रोकिएको अवस्थामा उपाधि यात्रा कमजोर बन्नेछ। हारले भने उपाधि यात्रामा मछिन्द्रको पकड गुम्नेछ। लिगको पाँचौ चरणको खेल सकिदा मछिन्द्रले ३ जित र २ बराबरीको नतिजासहित १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ। मछिन्द्रको एक अंक घटाइएको छ।
जावलाखेलविरुद्ध मछिन्द्रले आफ्ना तीन खेलाडी गुमाउने छ। गत सोमबार मनाङविरुद्वको खेल सकिए लगत्तै विवादमा उत्रिएका स्ट्राइकर दीपक राई, डिफेन्डर देवेन्द्र तामाङ र विजय धिमाललाई कारबाहीमा छन्। तीनै खेलाडीले लिगको दुई खेल गुमाउनेछन्। मुख्य खेलाडी कारबाहीमा पर्दा जावलाखेलविरुद्व मछिन्द्र दबाबमा हुनेछ। तर, मछिन्द्र निश्चित जितको लागि मैदानमा उत्रनेछ।
यता लिगमा अपराजित रहेको जावलाखेल तीन मुख्य खेलाडी प्रतिबन्धमा रहेको फाइदा उठाउदै मछिन्द्रलाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ। लिगमा अपराजित रहेको जावलाखेल २ जित र ३ बराबरीको नतिजासहित ९ जोडेर पाचौं स्थानमा छ।
मनाङलाई शेर्पाको चुनौती
यसै सिजन महत्वपूर्ण खेलाडीले टिम छाडेपछि दबाबमा रहेको मनाङ फेरी अर्काे समस्यासँग गुज्रिएको छ । गत सोमबार मछिन्द्रविरुद्व विवादमा उत्रिएपछि तीन खेलाडी प्रतिबन्धमा छन् । मनाङका मिडफिल्डर जगजित श्रेष्ठलाई पाँच, दोस्रो रोजाईका गोलरक्षक अशोक बराललाई ६ र रन्जन विष्टलाई दुई खेलको प्रतिबन्ध लगाएको छ ।
दोहोरो पहेंलो कार्डको कारण डिफेन्डर आदित्य चौधरीले शेर्पाविरुद्वको खेल गुमाउने छन्। यही समस्या झेलिरहेको मनाङले आज (शनिबार) यति हिमायनल शेर्पा क्लबको सामना गर्दैछ। औसत टोली बनाएर पनि उच्च प्रदर्शन गरिरहेको मनाङ शेर्पालाई पराजित गर्दै शीर्ष स्थानमा फर्कने दाउमा हुनेछ। लिगमा ३ जित र २ जितसहित ११ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ।
यता, समस्यासँग जुधिरहेको मनाङलाई रोक्ने लक्ष्यमा शेर्पा हुनेछ। अघिल्लो खेल गुमाएका निरज बस्नेत र आशिष गुरुङ मनाङविरुद्ध मैदान उत्रनेछन्। लिगमा जित निकाल्न नसकेको शेर्पाले ३ बराबरी र २ हारसहित ३ अंक जोडेको छ।