एजेन्सी, २१ माघ – भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन्। उनले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उक्त धारणा राखेका हुन्।
राष्ट्रपति मदुरोले देश गृहयुद्धमा होमिने या नहोमिने भन्ने कुरा अमेरिका र उसका समर्थक मित्रराष्ट्रहरुको क्रियाकलापमा निर्भर रहने बताएका हन्।
सो टेलिभिजन अन्तर्वार्तामा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा ट्रम्पले रक्ताम्य हात लिएर ह्वाइट हाउस छाड्नुपर्ने अवस्था आउने चेतावनी समेत दिएको एक समाचारले उल्लेख गरेको छ।
राष्ट्रपति मदुरोले भेनेजुएलामाथि हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र उसको समर्थनमा रहेका अन्य शक्तिराष्ट्रको कडा शब्दमा आलोचना गरेको समाचारमा जनाइएको छ। यसअघि विपक्षी नेता हुँवा गुइदोले एक अन्तर्राष्ट्रिय गठबन्धन तयार पारेर देशभित्र मानवीय सहायता भित्र्याइने बताएका थिए।
गत महिना गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशहरूले उनलाई नै समर्थन गरेका थिए। आफूले विश्वका शक्ति राष्ट्रहरुको समर्थन प्राप्त गरेको भन्दै आफू नै भेनेजुएलाको राष्ट्रपति भएको उनले बताउने गरेका छन्।
उक्त टेलिभिजनले राष्ट्रपति निकोलास मदुरोलाई दुवै जनाले आ–आफ्नो अडान नछोड्दा के यो देश गृहयुद्धमा धकेलिने त होइन भनी गरेको प्रश्नमा उनले उक्त धारणा राखेका हुन्। सो प्रश्नको जवाफमा उनले यस कुरालाई कसैले पनि नकार्न नसक्ने र अहिले नै यो प्रश्नको जवाफ पनि कसैले दिन नसक्ने बताए।
तर अहिले पनि भेनेजुएलामा विदेशी शक्ति राष्ट्रहरुका कारण परिस्थिति असहज बन्दै गएको र भोलिका दिनमा यो परिस्थिति अझै बिग्रिएर कसैले नियन्त्रण गर्न नसक्ने अवस्थामा पनि पुग्नसक्ने उनको दाबी थियो।
अन्तर्वार्तामा उनले युरोपेली युनियनले यसअघि आइतबार अघि सारेको समय अगावैको आम निर्वाचनको प्रस्तावलाई पनि नकारेका थिए। यसअघि बढ्दै गएको राजनीतिक संकटको समाधानका लागि समय अगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्ता पक्ष र विपक्षीहरुले पनि मान्नुपर्ने धारणा राखेको थियो।
राष्ट्रपति मदुरोले पनि मुलुकको राजनीतिक सङ्कट समाधानको प्रयासमा समय अगावै निर्वाचन गर्न सकिने भनी युरोपेली युनियनले गरेको प्रस्ताव स्वीकार गर्ने संकेत गरेका थिए। यहाँका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेर उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै निर्वाचनको माग गरेका थिए। उनीहरुले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न समेत माग गरेका थिए ।
उनीहरुले गरेको सो निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मदुरोले पनि समय अगावै निर्वाचन गर्न सकिने प्रस्ताव गर्नुभएको बताइएको थियो। गत शनिवार मात्र यस देशको राजधानी शहरमा राष्ट्रपति मदुरो र विपक्षी नेता गुइदोका समर्थकहरले बेग्लाबेग्लै प्रदर्शनहरू गरेका थिए।
शनिबारको प्रदर्शनको क्रममा भेनेजुएलाका एक उच्च सैन्य अधिकारी फ्रान्सिस्को यानेजले गुइदोको समर्थनका लागि समेत आह्वान गरेका थिए।
मदुरोलाई सत्ताबाट हटाउन गुइदोले सैन्य अधिकारीहरूसँग गोप्य भेटवार्ताहरु गरेको र मदुरोको मुख्य समर्थक मानिएको चीनसँग पनि सम्पर्क बढाएको समाचारमा बताइएको छ।
विपक्षीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएपछि मदुरोले मुलुकको सङ्कट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न सक्ने अनुमान गरिएको थियो। त्यस्तै त्यहाँको राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गुइदोले राष्ट्रपति मदुरोलाई अवैध दाबी गर्दै आएका छन्।
उनले केही दिन अघि आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेका थिए। उनको उक्त कदमलाई अमेरिका र अन्य केही देशहरुले समर्थन गरेपछि त्यहाँको सङ्कट बढेको हो।(रासस)