रौतहट– बिहीबार बिहान रौतहटको गुजरा नगरपालिका–३ मा हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको छ।
आगजनीबाट स्काभेटरका महत्त्वपूर्ण भागहरु जलेको र अहिलेसम्म कसले र किन गर्यो भन्ने कुरा नखुलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
आगजनी गरिएको स्काभेटर हुलाकी राजमार्गअन्तर्गत गुजराको सिमरी टोलको सडक निर्माणमा प्रयोग हुँदै आएको थियो। श्रेष्ठ ढुकुछु सञ्जीवनी निर्माण कम्पनीले उक्त सडक बनाउँदै आइरहेको थियो।
बिहीबार बिहान २ बजे स्काभेटरमा आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए र लगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले आगो नियन्त्रण गर्न लागि परेका छन्।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीको अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।