एजेन्सी– सिरियाली सरकारका फौजको रकेट आक्रमणबाट आठजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चारजना बालबालिका छन्। दुई महिला थिए।
अंग्रेजी वर्षको पहिलो दिन बुधबार नै सिरियाली सरकारको सुरक्षाफौजले इडलिबस्थित एक स्कुलमा आक्रमण गरेको हाे। घटनास्थलमा खटिएका स्वयंसेवी उद्धारकर्मीका अनुसार रकेट हमला गर्दा स्कुल शिक्षक र विद्यार्थीले भरिएको थियो।
सिरियाको उत्तरपश्चिम प्रान्त इडलिबको सरमिन सहरमा रहेको स्कुलमा आक्रमण भएको हो। सिरियाली मानव अधिकारकर्मीहरुका अनुसार घटनामा १६ जना घाइते छन्। इडलिब क्षेत्र पछिल्लो समय युद्धग्रस्त क्षेत्रको रुपमा चिनिएको छ। जहाँ पछिल्लो महिना सरकारी फौजले श्रृंखलावद्ध आक्रमण गरेको छन्।
गत महिना सिरियाली सेनाले इडलिबका ४० गाउँलाई नियन्त्रणमा लिएर विद्रोहीमाथि कारवाही गरेको थियो। यस घटनालाई पनि सोही घटनाको निरन्तरताको रुपमा लिइएको छ। युद्धग्रस्त इडलिबबाट गत डिसेम्बर १२ देखि २५ सम्म दुई साताको अवधिमा मात्रै २ लाख ३५ हजार मानिस विस्थापित भएको रिपोर्ट हालै सार्वजनिक भएको छ।
२०११ देखि सिरियाको गृहयुद्धका क्रममा ३ लाख ७० हजार मानिसको मृत्यु भइसकेको बताइएको छ। २०१९ मा मारिएका ११ हजार २ सय १५ मध्ये एक हजार बालबालिका मात्रै थिए।