एजेन्सी — नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको न्यूनतम तलब बढाएको छ। गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले चुनावी प्रचारका बेला सन् २०२० सम्म कामदारको तलब प्रतिघन्टा १० हजार कोरियन वन अर्थात झन्डै एक हजार रुपैया बनाउने जनाएका थिए।
सोही प्रतिबद्धताअनुसार गत वर्ष सरकाले ११ प्रतिशत तलब बढाएर १७ लाख ४५ हजार १ सय ५० वन बनाएको थियो। एक्कासि धेरै तलब बढाएको भन्दै यहाँका साना तथा मझौला उद्योगहरुले विरोध जनाएपछि यो वर्ष थोरै मात्र तलब बढाएको हो।
कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला महिनामा १७ लाख ९५ हजार ३ सय १० कोरियन वन (झन्डै १ लाख ७५ हजार नेपाली रुपैयाँ) हुनेछ।
दिनमा ८ घन्टाभन्दा माथि अतिरिक्त काम गर्ने मजदुरले राति १० बजेसम्म प्रतिघन्टा १२ हजार ८सय ८५ वनका दरले ज्याला पाउनेछन्। त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको अतिरिक्त रात्रि भत्तासहित प्रतिघन्टा १७ हजार १ सय ८० वन प्राप्त गर्नेछन्। गत जुलाईमा तलब निर्धारण समिति र श्रम तथा व्यवसाय प्रतिनिधिबीच भएको छलफलपश्चात २.८७ प्रतिशत तलब बढाउने सहमति भएको थियो।