कन्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जैविक धार्मिक पर्यटनमार्ग म्याराथुन प्रतियोगिता आयोजना गर्ने भएको छ। यही पुस १५ गते हुन लागेको दोस्रो संस्करणको म्याराथुन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
प्रतियोगितामा नगरपालिका क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका १८ वर्षमुनिका छात्र–छात्राका लागि पाँच किलोमिटर, महिला प्रतियोगिका लागि १५ किलोमिटर र खुलातर्फ २१ किलोमिटर दूरीमा प्रतिस्पर्धा गराइनेछ। प्रतियोगितामा भाग लिनका लागि छात्र ११० र छात्रा १०५ ले नाम दर्ता गराएका छन्।
यसैगरी महिला २५ र खुलातर्फ १५० गरी जम्मा ३९० जनाले प्रतियोगितामा भाग लिनका लागि नाम दर्ता गराएको प्रतियोगिता आयोजक समितिका संयोजक हरकसिंह धामीले बताए। खुला प्रतियोगिताका लागि भीमदत्तनगर बजारको खुलामञ्चदेखि बजार नगरपालिकाको वडा नं ४, ६, ३ तिकलपुर हुँदै ब्रम्हदेव र छात्र–छात्राका लागि नगरपालिकाको वडा नं ३ तिलपुरको बैजनाथ मन्दिरदेखि तिलाचौरको चिल्ड्रेन पार्कसम्म र महिलाका लागि ब्रम्हदेवसम्मको दूरी तोकिएको छ।
भीमदत्त नगरका प्रमुख सुरेन्द विष्टले पर्यटन प्रवद्र्धनसँगै खेलकूदको विकासका लागि प्रतियोगिता आयोजना गरिन लागेको बताए। नगरप्रमुख विष्टले यस वर्ष अघिल्लो वर्षको तुलनामा प्रतियोगिताको पुरस्कारको राशि वृद्धि गरिएको जानकारी दिएका छन्।
अठार वर्षमुनिका विद्यालयका छात्रछात्राका लागि यस वर्ष प्रथम हुनेलाई रु १५ हजार, द्वितीय हुनेलाई रु १२ हजार, तृतीय हुनेलाई रु १० हजार, चतुर्थ हुनेलाई रु आठ हजार, पाँचौँ हुनेलाई रु छ हजार ५०० र छैटौँलाई रु चार हजार पुरस्कार दिइने भएको छ। महिलातर्फ यस वर्ष प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार र तृतीय हुनेलाई रु १२ हजार पुरस्कार दिइने छ।
खुलातर्फ अघिल्लो वर्ष प्रथम हुनेलाई यस वर्ष प्रथम हुनेलाई रु ४० हजार, द्वितीय हुनेलाई रु ३० र तृतीयलाई हुनेलाई रु २० हजार पुरस्कार दिइनेछ। प्रतियोगितमा सहभागी हुनेहरुको आइतबार र सोमबार स्वास्थ्य परीक्षण गर्ने व्यवस्थासमेत नगरपालिकाले गरेको छ। स्वास्थ्य परीक्षणमा उत्तीर्ण हुनेलाई मात्रै प्रतियोगितामा सहभागी गराइनेछ। रासस