एजेन्सी – पाकिस्तानमा विश्वविद्यालयका एकजना शिक्षकलाई ईश्वरको निन्दा गरेको भन्दै मृत्युदण्डकाे सजाय सुनाइएको छ। मृत्युदण्डकाे सजाय पाउनेमा जुनैद हफिज रहेका छन्। उनी बहायद्यिन जकारिया युनिभर्सिटीका शिक्षक थिए।
अमेरिकी साहित्य, फोटोग्राफी र नाटकमा विज्ञता हाँसिल गरेका ३३ वर्षीय हफिजले फूलब्राइट छात्रवृत्तिअन्तर्गत अमेरिकामा स्नातकोत्तर गरेर उनी पाकिस्तान फर्किएका थिए।। हफिजका वकिलले फैसलालाई दुर्भाग्यपूर्ण भन्दै त्यसविरूद्ध पुनरावेदन दिने समाचार संस्था एएफपीलाई बताएका छन्।
यसअघि हफिजको मुद्दा लड्न सहमत भएका वकिल रसिद रेहान सन् २०१४ मा बन्धुकधारीबाट मारिएका थिए। अदालतले उनलाइ मुल्तान शहरस्थित केन्द्रीय कारागारमा रहँदा फैसला सुनाएको हो। एमनेस्टी इन्टरन्याश्नलले फैसलाबाट निकै दुखी र आश्चर्यचकित भएको भन्दै उक्त फैसला अन्यायपूर्ण भएको जनाएको छ।
इस्लाम पाकिस्तानको राष्ट्रिय धर्म हो र धर्म निन्दासम्बन्धी कानुनको पक्षमा जनसमर्थन रहिआएको छ। सन् १९९० को दशकयता कैयौँ इसाईहरू धर्म निन्दाको आरोपमा दोषी ठहर भएका छन्। सन् १९९० ईश निन्दाको आरोपमा कम्तीमा ६५ जनाको हत्या भएको छ।