दमौली– तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा करातेतर्फ रजत पदक प्राप्त गर्न सफल अनु गुरुङलाई शनिबार तनहुँको दमौलीमा सम्मान गरिएको छ। तनहुँको बन्दीपुर गाउँपालिका–६ घर भएकी खेलाडी गुरुङलाई खेलाडी तथा प्रशिक्षक सङ्घ तनहुँले सम्मान गरेको हो।
अनुले करातेमा ६१ केजी समूहतर्फ रजत पदक जितेका थिए। खेलाडी गुरुङलाई सम्मान गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले खेलाडीको मेहेनतले देशको इज्जत बढेको बताए। उनले देशको लागि खेल्ने खेलाडीलाई राज्यले विशेष सम्मान गर्नुपर्ने भनेका छन्।
खेलाडी तथा प्रशिक्षक सङ्घ तनहुँका अध्यक्ष मनिराज थापाले तनहुँकी चेली अनुले दक्षिण एशियाली खेलकूदमा पदक जितेर जिल्लाको मात्र नभई देशकै इज्जत राखेको बताए।
उनले सरकारले राम्रो सहयोग गर्ने हो भने खेलाडीले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्नसक्ने बताए। यसअघि गुरुङलाई सम्मानसहित दमौली बजार परिक्रमा गराइएको थियो। रासस