पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) मा धनगढी ब्लुजले शुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा विराटनगर टाईटन्सलाई ५ रनले हराउँदै धनगढीले विजय शुरुवात गरेको हो।
पोखरा रंगशालामा सोमबार भएको खेलमा धनगढीले विराटनगरलाई १ सय १८ रनको विजयी लक्ष्य दिएको थियो। १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो। उसका लागि राजु रिजालले सर्वाधिक २५ रनको योगदान दिए।
त्यस्तै सुनिल धमलाले १८ रन, नोमन खानले ११, पुनित मेहेराले १५ कप्तान प्रदिप सिंह ऐरीले १० रन बनाए। धनगढीको बलिङमा दिपेन्द्र सिंह ऐरीले ३ विकेट र सागर ढकालले २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो।
उसका लागि कमल सिंह ऐरीले २१ बल खेलेका ऐरीले २ चौका र २ छक्काको मद्दतमा २६ रन बनाए। त्यस्तै स्रिमन्था विजारत्ने २५ रनको योगदान गरे। रोड्रिगो थोमसले १६ रन, सौरभ खनालले १२, मन्जित श्रेष्ठले ११ रन बनाए। विराटनगरका शाहब आलमले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट हात पारे भने नोमन खानले २ विकेट लिए।