काठमाडौँ, १८ माघ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले अमेरिकी ‘कोपभाजन’मा परेका छन्। भेनेजुएला प्रकरणमा गत माघ १० गते अमेरिकाको विरोध गर्दै वक्तव्य प्रकाशित गरेपछि प्रचण्ड अमेरिकाको कोपभाजनमा परेका हुन्।
अमेरिका रिसाएपछि प्रचण्ड अहिले ‘वक्तव्यको भाषामा आफूलाई साथीहरुले फसाए’ भन्दै स्पष्टीकरण दिइरहेका छन्। प्रचण्डको यो वक्तव्यले अमेरिकाका सामु उनलाई त अप्ठ्यारो स्थितिमा पुर्याएकै छ, केपी ओली नेतृत्वको सरकार समेत यसबाट अप्ठ्यारोमा परेको छ।
प्रचण्डले भेनेजुएला प्रकरणमा वक्तव्य दिँदै भेनजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीहरुबाट ठाडो हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउन खोजेको र भेनेजुएलाको सार्वभौम सत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको भन्दै अमेरिकाको कडा निन्दा गरेका थिए।
प्रधानमन्त्री केपी ओली विदेशमा रहेका समयमा सत्तारुढ दलका एक अध्यक्षबाट आफूविरुद्धमा आएको वक्तव्यबाट अमेरिका नेपाल सरकारसँग झस्कियो। सत्तारुढ पार्टीका दुई अध्यक्षमध्ये एकबाट यस्तो वक्तव्य आएपछि अमेरिकाले तत्कालै भेनेजुएलाका सम्बन्धमा सरकारको धारणा माग गरेको थियो।
बडो अप्ठ्यारो मान्दै नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले भेनेजुएला प्रकरणमा एउटा वक्तव्य जारी गर्यो। तर, यस वक्तव्यबाट पनि अमेरिकाले चित्त बुझाएन। उसले भन्यो, ‘परराष्ट्र मन्त्रालयको यो वक्तव्य प्रचण्डकै वक्तव्यको राम्रो सम्पादन र कुटनीतिक भाषाशैलीको अर्को संस्करण हो।’
यता प्रचण्ड भने आफ्नो वक्तव्यमा कुटनीतिक भाषा कमजोर रहेको बताइरहेका छन्। यद्यपि, प्रचण्डले जस्तो भाषा प्रयोग गरेर भेनेजुएला प्रकरणमा वक्तव्य प्रशारित गरेका छन्, त्यो त्यहाँको यथार्थ चित्रण हो। भेनेजुएलाको आर्थिक तथा मानवीय संकटको वास्तविक कारण अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध भएको भन्दै विश्वका ७० जना विद्धानले उक्त कदमको विरोध गर्दै खुलापत्रमार्फत अमेरिकाको आलोचना गरेका छन्।
तर, विश्वका विद्धानहरुले अमेरिकाको आलोचना गर्नु र नेपालका सत्तारुढ दलका एक जना अध्यक्षले आलोचना गर्नुमा ठूलो अन्तर छ। यो विरोधबाट भविष्यमा ओली सरकारमाथि ठूलै संकट आउने सम्भावना पनि देखिन्छ। त्यति मात्रै होइन, भविष्यमा प्रधानमन्त्री बन्ने लाइनमा रहेका प्रचण्डले त्यो पद हासिल गर्नै नसक्ने वातावरण निर्माण हुने सम्भावना पनि त्यत्तिकै छ।
यही कारणले प्रचण्ड अहिले ‘मलाई साथीहरुले वक्तव्यको भाषामा फसाए’ भनेर बर्बराउन थालेका छन्। त्यसो त प्रचण्डले प्रेषित गरेको वक्तव्यको मूल कपी नै परिवर्तन गरिएको हो कि भन्ने आशंका पनि गरिँदैछ। प्रधानमन्त्री ओली विदेश रहेको अवस्थामा प्रचण्डलाई यस विषयमा वक्तव्य दिन प्रेरित गर्नेमा नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र केन्द्रीय सदस्य बलराम बास्कोटाको नाम जोडिएर आएको छ।
यदि प्रचण्डले भनेजस्तै उनलाई यो वक्तव्यमार्फत फसाइएको हो भने यिनै तीन नेताले फसाएका हुन्। होइन भने अंग्रेजी भाषामा कमजोरीका कारण प्रचण्ड आफैले बास्कोटाको ड्राफ्टमा हस्ताक्षर गरेका हुन्।
अब जे भएपनि अमेरिकाको नजरमा प्रचण्ड उसको विरोधीको रुपमा चित्रित भएका छन्। यसबाट प्रचण्डलाई भविष्यको राजनीतिक बाटोमा निकै नै बाधा व्यवधान उत्पन्न हुन सक्छ।
भेनेजुएलामा भर्खरै सम्पन्न निर्वाचनबाट विजयी भएका निकोलस मदुरोलाई चुनौती दिँदै विपक्षी पार्टीका नेता ३५ वर्षीय जुवान गुवाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका छन्। जुवानलाई अमेरिकासहितका मुलुकले मान्यता दिएका छन्।
भेनेजुएलाको संविधानको धारणा ३३३ र ३५० अनुसार जुवानले राष्ट्रियसभाबाट आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेर विवाद बढाएका हुन्। रुस र चीनले निर्वाचित राष्ट्रपति मदुरोलाई वैधानिकता दिँदै समर्थन गरेका छन्। भेनेजुएलामा बढिरहेको राजनीतिक संकटलाई दिएर विश्वका शक्ति राष्ट्रहरु विभाजित भएका छन्।