एजेन्सी– अमेरिकाको मेरिल्यान्डस्थित घरजग्गासम्बन्धी एक रियल स्टेट कम्पनीले वार्षिक पार्टीमा सबै कर्मचारीहरुलाई एउटा रातो खाम बाँड्यो।
कसैलाई केही खबर नदिइ बाँडिएको सो खामभित्र त्यति ठूलो उपहार हुन सक्छ भन्ने कसैले अपेक्षा गरेका थिएनन्। यस्तोमा १९८ कर्मचारीहरु उपस्थित रहेको सो पार्टीले अचानक भावुक मोड लिएको हो। यसरी कम्पनीले सबैलाई आश्चर्यजनक रुपमा ठूलो बोनस प्रदान गरेपछि कर्मचारीहरु दङ्ग परेका हुन्।
यसमा कम्पनीले झन्डै १ करोड बराबरको उपहार बाँडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसबारेमा असिस्टेन्ट प्रोजेक्ट म्यानेजर स्टेफनी रिजवेले भनिन्, “जब मैले खाम खोलेँ, मैल विश्वास नै गर्न सकिनँ। मलाई मेरो आँखामा विश्वास लागेन र म त्यो बेलाको भावना शब्दमा बयान गर्न पनि सक्दिनँ। किनकि वास्तवमै यो घटनाले हाम्रो जीवन बदलिदिएको छ।”
३७ वर्षीया रिजवे सो कम्पनीमा पछिल्लो १४ वर्षदेखि काम गरिरहेकी थिइन् र उनले आफ्नो बोनस छोराछोरीको कलेज पढाइका लागि खर्च गर्ने बताएकी हुन्। त्यस्तै घरको मर्मत गर्नमा र शेयरमासमेत लगानी गर्ने उनले खुसी हुँदै बताइन्।
यसबारेमा जोन प्रपर्टिजका प्रमुख, लरेन्स मेक्रान्ट्जले सीएनएनसँग बताएअनुसार कम्पनीले २ करोड बर्ग फिटको लक्ष्य हासिल गरि, १४ वर्षमा दुई गुणाले सङ्ख्या बढाएर उल्लेखनीय उपलब्धी हासिल गरेको छ। त्यसैले सबै मिहिनेती कर्मचारीलाई सो उपहार प्रदान गरिएको हो। उनी भन्छन्, “हामी सो लक्ष्यसम्म पुग्नमा सहयोग गर्ने सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गर्न केही ठूलो कार्य गर्न चाहन्थ्यौँ। ”
यसमा कर्मचारीहरुले कम्पनीमा काम गरेको वर्ष अनुरुप बोनस प्राप्त गरेका हुन्। जसमा सबैभन्दा धेरै २ लाख ७० हजार डलरसम्मको बोनस थियो भने काम गर्न सुरु पनि नगरेका भर्खर नियुक्त गरिएका कर्मचारीले १०० डलर प्राप्त गरेका हुन्। मेक्रान्ट्जले फेरि भने, “मैले आफ्नो जीवनमै यस्तो माहोल कहिल्यै अनुभव गरेको थिइनँ। त्यहाँ सबै अत्यन्तै भावुक भइ रुँदै, कोही हाँस्दै त कोही अंगालो हाल्दै बधाई दिइरहेका थिए। र सबैले हामीलाई धन्यवाद दिँदैगर्दा आफूले सो पैसा के गर्ने भन्नेबारे आ–आफ्नो कथा पनि सुनाएका हुन् । हाम्रो यस उपहारकै कारण कोही ऋणमुक्त बन्नेछन् भने कतिले क्रेडिट कार्डको बिल तिर्न सक्नेछन्। जसकारण हामी अत्यन्त खुसी छौँ। ”
आठ फरक ब्रान्च भएको यस सेन्ट जोन प्रपर्टिजले कम्पनीको इतिहासमै पहिलोपटक स्टेट बाहिर आयोजना गरेको वार्षिक पार्टीमा सम्पूर्ण अतिधिको होटलदेखि हवाइ खर्च समेत बेहोरेको हो। मेक्रान्ट्ज भन्छन्, “हामीलाई आफ्ना कर्मचारीहरुप्रति अत्यन्त गर्व छ। किनकि उनीहरु नै यसको सफलताका कारण र एकमात्र आधार हुन्। त्यसैले हामी उनीहरुको जीवनमा केही उल्लेखनीय योगदान पुर्याउन चाहान्थ्यौँ जसमा हामी सफल भयौँ।” सीएनएन