एजेन्सी– भारतको असमको गुवाहटीमा नागरिकता संशोधन विधेयकको विरुद्धमा भएको प्रदर्शनका क्रममा दुईजना प्रदर्शनकारीको मृत्यु भएको छ। असमका पुलिसका महानिर्देशक भाष्कर ज्योति महन्ताले बीबीसीसँगको कुराकानीमा झडपका क्रममा केही प्रहरी अधिकारीहरु पनि घाइते भएको जनाएका छन्।
प्रहरीले प्रदर्शनकारीको मृत्यु प्रहरीको गोलीबाट भएको भनेर औपचारिक रुपमा भने बताउन चाहेको छैन।
यद्यपि उनीहरुको मृत्यु प्रहरीको गोलीबाट नै भएको अनुमान गरिएको छ। प्रहरी अधिकारीले दुवै प्रदर्शनकारीको मृत्यु बुलेट इन्जुरीले भएको मात्रै बताएका छन्। उनीहरुलाई कसरी गोली लाग्यो भनेर जाँच गर्ने काम भएरहेको उनले बताए।
पीटीआईले गुवाहटी मेडिकल कलेज तथा हस्पिटलका अधिकारीहरुलाई उद्धृत गर्दै बताएअनुसार एक जनाको मृत्यु अस्पताल लैजानुअघि नै र एक जनाको अस्पतालमा उपचारका क्रममा भएको हो। बिहीबार असममा आन्दोलन निकै चर्किएको थियो। बीबीसी