एजेन्सी– अमेरिकी संसद्को न्यायिक समितिले औपचारिक रूपमा राष्ट्रपति ट्रम्पविरूद्धका महाभियोगसम्बन्धी अभियोगहरू सार्वजनिक गरेको छ।
त्यसलाई राष्ट्रपतिविरुद्ध अघि बढाइएको महाभियोग प्रक्रियाको एउटा प्रमुख कदमको रूपमा हेरिएको छ। डेमोक्रयाटहरूको नियन्त्रण रहेको समितिका प्रमुख जेरोल्ड न्याडलरले सार्वजनिक गरेको पहिलो बुँदामा राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ।
दोस्रोमा संसद्को गतिविधिमा बाधा पु¥याएको आरोप लगाइएको छ। राष्ट्रपति ट्रम्पमाथि घरेलु राजनीतिक कारणले युक्रेनलाई दिइने सहायता स्थगित गरेको पनि आरोप लगाइएको छ। राष्ट्रपति ट्रम्पले आफूले कुनै गल्ती नगरेको बताउँदै महाभियोग प्रकियालाई ‘पागलपन’को सङ्ज्ञा दिएका छन्।
मतदान
संसद्को न्यायिक समितिले यसै हप्ताको अन्त्यतिर ती बुँदाहरू अनुमोदन गरे त्यो संसद्को तल्लो सदनमा मतदानका लागि प्रस्तुत हुनेछ। डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको तल्लो सदनबाट ती बुँदा अनुमोदन भए भने रिपब्लिकनहरूको नियन्त्रणमा रहेको सिनेटमा महाभियोगसम्बन्धी सुनुवाइ अघि बढ्नेछ। सम्भवतस् त्यो प्रक्रिया ज्यानुअरी महिनामा सुरु हुने ठानिएको छ।
के ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन सम्भव छ?
महाभियोग अघि बढाउने कदमको बचाउ गर्दै न्याडलरले संवाददाताहरूसँग सन् २०२० को राष्ट्रपतीय चुनावको निष्ठामा नै प्रश्न उठेको बताएका थिए। उनले राष्ट्रपति ट्रम्पले आफूलाई कानुनभन्दा माथि ठान्ने गरेको उल्लेख गरे। हामी स्पष्ट हुनैपर्छ कोही पनि, राष्ट्रपति पनि कानुनभन्दा माथि हुँदैनन्।’
राष्ट्रपतिमाथि के आरोप छ?
युक्रेनका नेतालाई गरेको टेलिफोनमा राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिइने सैन्य साहयता आफूलाई राजनीतिक रूपमा लाभ पुर्याउने एउटा अनुसन्धानसँग जोडेका थिए।
ती अनुसन्धान अघि बढाइए डेमोक्र्याटहरूले आरोप लगाएअनुसार आफूले कङ्ग्रेसले अनुमोदन गरेको झण्डै ४०० मिलियन डलर बराबरको सैन्य सहायता युक्रेनलाई उपलब्ध गराउने र ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोल्दिमिर जेलेन्सकीलाई भेट्ने ट्रम्पले प्रस्ताव गरेका थिए।
डेमोक्रयाटहरूले अमेरिकाको साझेदारमाथि त्यस किसिमको व्यवहार गर्नु शक्तिको दुरुपयोग भएको बताउने गरेका छन्।राष्ट्रपति ट्रम्पले युक्रेनले पहिलो अनुसन्धान आफूलाई डेमोक्रयाट दलबाट चुनौती दिइरहेका पूर्वउपराष्ट्रपति जो बाइडन र उनका छोरा हन्टरमाथि गरोस् भन्ने चाहेका थिए। आफ्ना बुवा ओबामा शासनकालमा उपराष्ट्रपति हुँदा हन्टर युक्रेनी ऊर्जा कम्पनीको बोर्डमा थिए।
अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छः विपक्षी नेता
ट्रम्पको दोस्रो माग युक्रेनले एउटा सनसनीपूर्ण झूटा विवरण तयार पारोस् भन्ने थियो जसले अघिल्लो राष्ट्रपतीय चुनावमा रुसले नभई युक्रेनले हस्तक्षेप गरेको देखाओस् भन्ने रहेको बताइन्छ।
अहिलेसम्म अमेरिकी गुप्तचर निकायले मस्कोले सन् २०१६ मा डेमोक्र्या्टिक दलको ईमेल ह्याक गरेको सर्वसम्मत रूपमा बताउने गरेका छन्। अमेरिकाको इतिहासमा दुईजना राष्ट्रपतिलाई महाभियोगको प्रक्रिया अघि बढाइएको थियो। सन् १८६८ मा एन्ड्र्यु जोनसन र सन् १९९७ मा बिल क्लिन्टनले महाभियोगको सामना गरेका थिए। तर कोही पनि हटाइएनन्। बीबीसी