एजेन्सी– अमेरिकाको जर्सी सहरमा नेपाली समयअनुसार गएराति भएको गोली हानाहानमा एक प्रहरी अधिकारी समेत ६ जनाको मृत्यु भएको छ। सहरका मेयर स्टीवन फुलपका अनुसार घटनामा दुई प्रहरी घाइते भएका छन्। सहरको ग्रीनविले इलाकामा कम्तिमा १ घण्टासम्म दुईतर्फी गोली हानाहान भएको बीबीसीले जनाएको छ।
जर्सी सहर हडसन नदीको पारितर्फ रहेको छ। हडसनको वारितर्फ न्यूयोर्क सहर छ। यो गोलाबारी कसले र किन गरेको भन्ने यो समाचार तयार पार्दासम्म खुलेको थिएन । अधिकारीहरुले यो आतंकवादी हमला भने नभएको अनुमान गरेका छन्।
स्थानीय मिडियाका अनुसार गोलाबारीको सुरुवात एक पसलबाट भएको थियो। त्यहाँ दुई संदिग्ध व्यक्तिले आफूलाई लुकाएका थिए।
मारिएका प्रहरीकर्मी ३९ वर्षका जोसेफ सील्स हुन्। उनी पछिल्लो १३ वर्षदेखि जर्सी प्रहरीको सेवामा रहेका थिए। जर्सी सहरका प्रहरी प्रमुख माइक केलीले जनाएअनुसार जोसेफ सील्सले सडकमा बन्दुकको सफाया गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
स्थानीय समयअनुसार दिउँसो १२ बजे त्यहाँ गोलाबारी भएको हो। ती प्रहरी अधिकारी संदिग्ध व्यक्तिलाई पक्राउको प्रयासका क्रममा मारिएका हुन्। ती व्यक्तिहरु सुरुमा ट्रकमा चढेर भागेका थिए र एउटा सुपरमार्केटभित्र छिरेर प्रहरीमाथि गोली चलाएका थिए। प्रहरीसँग थुप्रै राइफल र गोली पनि थियो। पसलको भित्र तीन व्यक्ति मारिएका थिए। बीबीसी