काठमाडौं — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपालले २—१ गोलले भुटानलाई पराजित गरेसँगै चौथो पटक स्वर्ण हात पारेको छ।
त्रिपुरेश्वर स्थित दशरथ रंगसालामा नेपालले खेलको १६ औँ मिनेटमा नेपालका लागी अभिषेक रिजालले पहिलो गोल गरेका थिए। त्यसको केही बेरमै भुटानका कप्तान चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काएका थिए। तर दोस्रो हाफको सुरुमै सुनिल वलको गोलमा नेपालले २–१ को अग्रता बनायो।
जारी सागमा यसअघि नेपाल र भुटानबीच भएको खेलमा नेपाल ४–० गोल अन्तरले विजयी भएको थियो। तर, भुटानले श्रीलंका, बंगलादेश र माल्दिभ्सजस्ता सशक्त टिमलाई हराएर फाइनलमा स्थान बनाउन सफल भएको हो।
योसँगै नेपालले जारी सागमा ५१ स्वर्ण पदक जितेको छ। नेपाललाई भने लगातार साग फुटबलमा स्वर्ण जित्दै इतिहास बनाएको छ। २०१६ मा भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो।