एजेन्सी– बेलायतमा बिहीबार अर्थात् डिसेम्बर १२ का दिन संसदीय निर्वाचन हुँदैछ। त्यसको नतिजा भोलिपल्ट १३ तारेखमा आउँदैछ। पाँचवर्ष यता बेलायतमा यसपटक तेस्रो आम चुनाव हुन लागेको हो। चुनावको तिथी जति नजिक हुँदैछ त्यति नै प्रचार तीव्ररुपमा अघि बढेको छ।
सन् २०११ को जनगणनाअनुसार बेलायतको कूल जनसंख्या करिब ६ करोड छ। यो जनसंख्यामा करिब २ दशमलब ५ प्रतिशत भारतीय रहेका छन्। त्यसैले त्यहाँ रहेका भारतीयलाई लोभ्याउनका लागि बेलायतका राजनीतिक पार्टीले अहिले प्रयास गरिरहेका छन्।
यसको ताजा उदाहरण हो कन्जरभेटिभ पार्टीका भारतीय उमेदवार तथा पूर्वसांसद शैलेस वाराले ट्विट गरेको भिडियो। सो भिडियोमा हिन्दी गीत राखिएको छ। जसमा बेलायतका अहिलेका प्रधानमन्त्री बोरिस जोन्सनलाई जिताउन आग्रह गर्नुका साथै लेबर पार्टीका नेता जेरेमी कोर्बिनको विरोध गरिएको सुन्न सकिन्छ। भिडियोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको साथ बोरिस जोहन्सनको तस्बिर पनि देखाइएको छ।
प्रचारको यो भिडियो सोसल मिडियामा भाइरल भएको छ। यो भिडियोको बारेमा थुप्रै भारतीयले प्रतिक्रिया जनाएका छन्। यद्यपि यो भिडियोलाई बोरिस जोहन्सनको आधिकारिक हयान्डलबाट भने प्रचार गरिएको छैन। भिडियो कसले बनाएको हो भन्ने पनि खुलाइएको छैन।
शम्भु घटकले लेखेका छन्,“बोरिस जोहन्सनको प्रचार गीत कुनै लोकल स्टुडियोमा बनाएको जस्तो छ।”
सिद्याक आहूजाले लेखेका छन्,“कन्जरवेटिभ पार्टीले बलिउडको जस्तो गीत बनाएको छ। यो भिडियो यति खराब छ कि यसलाई देखेर तपाईँले बोरिस जोहन्सनलाई मत दिनुहुन्न।”
प्रफुलल केतकतले ट्विट गर्दै भनेका छन्,“बोरिस जोहन्सनको यो हिन्दी भिडियो गजबको क्रिएटिभ छ। यसले यो बताएको छ कि भारतीय जहाँ गए पनि उनीहरु चुनावलाई निकै मन पराउँछन्।”
फारुक युसुफले लेखेका छन्,“बोरिस जोहन्सनको हिन्दी अभियान निकै मजाक खालको छ। खासमा बोरिसको हिन्दी उच्चारण।”
बोरिस जोहन्सन कतिपय समयमा मन्दिर र गुरुद्धारामा पनि गएका छन्। सन् २०१७ मा जब उनी विदेशमन्त्री भएका थिए गुरुद्वारा जाँदा उनले सिखहरु बेखुसी भएको विषय पनि झेल्नुपरेको थियो। चुनावी प्रचारको क्रममा बोरिसले भनेका थिए,“जब बेलायतबाट भारतका मानिस फर्किन्छन्, आफ्नो साथमा ड्युटीको ह्विस्की बोतल पनि लिएर जान्छन्। किनकि भारतमा स्कच ह्विस्कीमाथि १५० प्रतिशत ड्युटी लगाइएको छ । कन्जरवेटिभ पार्टीको सरकार आएमा भारतका मानिसलाई सहयोग पुग्नेछ। किनकि मुक्त व्यापारको प्रावधान अन्तर्गत स्कचमा बेलायतले इम्पोर्ट ड्युटी लगाउने छैन।”
त्यतिबेलै एक सिख महिलाले आपत्ति जनाएकी थिइन्,“यो ज्यादै खराब कुरा हो। बोरिस जोहन्सन गुरुद्वारामा आएर रक्सीलाई बढावा दिने कुरा गरिरहेका छन्।”
बोरिस यो सुनेर चुप भएका थिए। बोरिस जोहन्सनकी पत्नी मरिनाका पिता अंग्रेज हुन् भने आमा दीप सिंह भारतीय मूलकी सिख महिला हुन्। बेलायतमा मात्रै होइन अन्य केही देशको चुनावमा पनि भारतको चर्चा हुने गरेको छ। यो भन्दा पहिला इजरायलको चुनावमा पनि बेन्जामिन न्यातनाहुले भारतका प्रधानमन्त्री मोदी र अन्य विभिन्न राष्ट्रका नेताहरुको तस्बिर पनि प्रयोग गरेका थिए।
अमेरिकी चुनावको क्रममा एक भिडियो भाइरल भएको थियो जसमा डोनाल्ड ट्रम्पले ‘आइ लभ हिन्दु’ भन्दै गरेको देखिएको थियो। बीबीसी