एजेन्सी– विभिन्न नकारात्मक कारणवश् मनमा चोट पर्दैगर्दा त्यसले स्वास्थ्यमा पनि गम्भीर असर गर्न सक्ने वैज्ञानिकहरुले नयाँ अनुसन्धान मार्फत प्रमाणित गरेका छन्। हामीले यसको उदाहरण कतिपय जोडीहरुमा एकजनाको मृत्यु भएपछि अर्का व्यक्तिको पनि सुर्ताएर केही समयमै मृत्यु हुने गरेको देखेका छौँ । यसलाई “ब्रोकन हार्ट सिन्ड्रोम” वा अत्याधिक तनावले उत्पन्न गराएको “कार्डिओमायोप्याथी” पनि भनिन्छ। विशेषगरी आफूलाई माया गर्ने मान्छेको मृत्यु हुँदा वा छाडेर गएमा यस किसिमको तनावग्रस्त मनस्थिति सिर्जना हुने गर्दछ।
यसको मुख्य लक्षण भनेको स्ट्रेस हर्मोनको अत्याधिक उत्पादनका कारण अचानक छाति दुख्नु हो। यसबीच बुधबार प्रकाशित अध्ययनमा मनमा गम्भीर चोट पुगेका ६ मध्ये एकजनामा क्यान्सर उत्पन्न हुने गरेको पाइएको हो। जर्नल अमेरिकन हर्ट असोसिएसनले सञ्चालन गरेको नयाँ अनुसन्धानमा यस्तो पत्ता लागेको छ। यति मात्र नभएर त्यस प्रकारले चित्त दुखाइका कारण उत्पन्न भएको क्यान्सरका बिरामी अन्यको तुलनामा पाँच वर्ष भित्रमै मृत्यु हुने गरेको पनि अध्ययनमा उल्लेख छ।
यसका लागि अनुसन्धानकर्ताहरुले ब्रोकन हार्ट सिन्ड्रोमका १६०० बिरामीका डाटा अध्ययन गरेका हुन्। यस्तोमा उनीहरुले क्यान्सर र यसबीच सम्बन्ध रहेको पत्ता लगाएका हुन् तर स्पष्ट कारण भने फेला पार्न नसकेको बताएका छन्। त्यसैले ब्रोकन हार्ट सिन्ड्रोमका बिरामीहरुले अनिवार्य रुपमा क्यान्सरका परीक्षण गराइरहनुपर्ने बताइएको छ। रिपोर्टमा भनिएको छ, ‘ब्रोकन हार्ट सिन्ड्रोमका प्राय बिरामीहरु “म्यालिग्नेन्ट ट्युमर” सँग जोडिएको पाइएकाले नै यसको उचित परीक्षण जरुरी मानिएको हो। सिएनएन