एजेन्सी–फ्रान्समा पेन्सन सुधार कार्यक्रमको विरोधमा लाखौँको संख्यामा कर्मचारीहरु प्रदर्शनमा उत्रिएका छन्।
पेन्सन सुधारको विरोधमा देशव्यापी हड्ताल हुँदा विद्यालय र कार्यालयको कामकाज समेत प्रभावित भएको छ। कतिपय स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। अहिलेसम्म ८७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
फ्रान्समा कामकाजी वर्ग पेन्सन योजनाको लागि सुधार गर्ने प्रस्तावको विरोधमा छ। नयाँ प्रस्तावमा अवकासको उमेर बढाइएको छ। योजना अनुसार अवकाश हुनु भन्दा पहिले काम छोडेमा कम सेवा सुविधा पाइने उल्लेख छ।
पेन्सन सुधारको विरोधमा जारी हड्तालमा शिक्षक, परिवाह कर्मचारी, प्रहरी, वकिल, अस्पतालका कर्मचारी, विमानस्थलका कर्मचारी लगायतकाहरु सहभागी छन्।
फ्रान्सका राष्ट्रपति इम्मनुयल म्याक्रोले फ्रान्समा विश्वव्यापी मान्यतामा आधारित अवकाश प्रणाली सुरु गर्न चाहेका छन्। तर उनको यो योजनादेखि कर्मचारीहरु आक्रोशित भएका छन्।
पेरिसमा मात्रै करिब २ लाख प्रदर्शनमा सहभागी भएका थिए। अन्य ४० सहरमा साढे ४ लाख भन्दा बढी प्रदर्शनमा सहभागि भएका छन्।