एजेन्सी, १७ माघ – भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता हुवाँ गुएइदोलाई देश नछाड्न मङ्गलबार आदेश दिएको छ। आफैँले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएइदोको सम्पत्ति रोक्का गर्न पनि अदालतले आदेश दिएको जनाइएको छ।
गुएइदोका विरुद्धमा महान्यायाधिवक्ता तारेक विलियम साबको मागअनुसार अदालतले यस्तो फैसला गरेको अधिकारीहरूले बताएका छन्।
विपक्षी नेता गुएइदोले देशको शान्ति सुव्यवस्थामा असर पारेकाले देश छाड्न नपाउने आदेश दिन महान्यायािधवक्ताले माग गरेका थिए। गुएइदोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि कतिपय जनता र निकायले उनलाई समर्थन गरे पनि सर्वोच्च अदालतले भने उनको विपक्षमा मत जाहेर गरेको थियो।
लामो राजनीतिक सङ्घर्षका कारण चरम् आर्थिक सङ्कट भोगिरहेको भेनेजुएलामा पछिल्लो समय राजनीतिक द्वन्द्व थप चर्किंदै गएको छ। द्वन्द्व बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन्। विपक्षीहरूले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर राष्ट्रपति निकोलास मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल शरु गरेपछि विवाद थप चर्किएको हो।
निर्वाचन निस्पक्ष हुन नसक्ने भन्दै विपक्षीहरूले निर्वाचन बहिस्कार गरेका थिए। विवादित निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि उनले यही जनवरी १० मा शपथग्रहण गरेका थिए। उनको शपथसँगै देशभरि विरोध प्रदर्शनहरू भएका थिए।
त्यस निर्वाचनलाई अवैध र अमान्य भनेका अमेरिका, युरोपली देशलगायतले अहिले पनि मदुरोलाई अस्वीकार गर्दै विपक्षी नेता गुएइदोको समर्थन गरेका छन्।(रासस)