काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा नेपालको झण्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने पक्का भएको छ। यसअघि नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काको नाम सिफरिश गरिएको भएपनि झण्डा बोक्ने जिम्मा कमलले पाएका हुन्।
राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिको संयुक्त बैठकले क्रकेट टोलीका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस गर्दै विकल्पमा कमलको नाम राखेको भएपनि कार्यकरी समितिले भने कमललाई झण्डा बोक्ने जिम्मेवारी दिने निर्णय गरेको हो। त्यस्तै खेलाडीमा सपथ लिने जिम्मेवारी आयशाले पाएकी छिन्।
आयशाले एसियाली खेलकुदमा कास्य पदक र सागको स्वर्ण पदक जितेकी छिन्। अन्य विकल्पमा फुटबलका विक्रम लामा, करातेका विनोद शाक्य, तेक्वान्दोकी आयशा शाक्य र उसुकी निमा घर्तीमगरको पनि नाम चर्चामा रहेको थियो। त्यस्तै ब्याडमिन्टनका अम्पायर दीपक थापाले निर्णायकका तर्फबाट सपथ लिने भएका छन्।
सन् २०१६ को रियो ओलम्पिकमा ब्याडमिन्टनमा लाइन जज बसिकेका थापा ब्याडमिन्टन एसियाका सिनियर अम्पायर हुन्। सागको दीप प्रज्वलनका लागि भने सागमा चार पटक स्वर्ण पदक जितेका सफल खेलाडी दीपक विष्टको नाम सिफारिस गरिएको छ। दीपक १३ औं सागमा तेक्वान्दोको गेरुगी टोलीको प्रशिक्षक हुन्।