काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटका लागि बंगलादेशले बलियो टोलीको घोषणा गरेको छ। बंगलादेश क्रिकेट बोर्डले ६ सिनियर खेलाडीसहित अन्तिम टोली घोषणा गरेको हो।
भर्खरै सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेको यू–२३ टोलीलाई नै समेटेर टोली घोषणा भएको छ। इमर्जिङ टिम्स एसिया कपमा उपविजेता बनेको बंगलादेशले उत्कृष्ट प्रदर्शन गरेको थियो। शुक्रबार घोषणा गरेको टोलीमा १५ सदस्य छन्।
उक्त टोलीमा मोहम्मद सैफ हसन, मोहम्मद नइम शेख, अफिफ हुसैन, जाहिर हसन, नज्मुल हसन सान्तो (कप्तान), याशिर अलि चौधरी, सैद मिनहाजुल आबीदीन अफ्रिदी, सुमन खान, महिदुल इस्लाम, तनबीर इस्लाम, मनिक खान, मेहदी हसन राना, सौम्य सरकार, मेहदी हसन र हसन मुहम्मद रहेका छन्।
बंगलादेशले पहिलो खेल मंसिर १८ मा माल्दिभ्सविरुद्ध खेल्नेछ। दोस्रो खेलमा मंसिर २० मा भुटान तथा मंसिर २१ नेपालविरुद्ध र मंसिर २२ मा श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।