एजेन्सी– इंग्लिस क्लब आर्सनलले उनाइ एमरीलाई प्रशिक्षकबाट निकालेको छ। करिब १८ महिनादेखि आर्सनलको प्रशिक्षकमा रहेका उनलाई क्लबको प्रदर्शन तथा नतिजा आश गरिएको भन्दा तलको रहेकाले बर्खास्त गरिएको बताइएको छ।
उनको प्रशिक्षणमा आर्सनलले पछिल्ला सात खेलमा जित निकाल्न सकेको छैन र गएको बिहीबार युरोपा लिग अन्तर्गत फ्र्यांकफर्टसँग भएको खेलमा २–१ ले पराजित भयो। आर्सनल अहिले १३ खेलबाट १८ अंकसहित आठौँ स्थानमा छ।
क्लबको खस्कँदो प्रदर्शनका कारण उनलाई पदबाट हटाइएको हो। स्पेनिस एमरी १८ महिनाअघि फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट आर्सनलमा आएका हुन्। उनले पिएसजीलाई फ्रेन्च लिग वानको उपाधि दिलाएका थिए। आर्सेन वेङ्गरले छोडेपछि एमरी सन् २०१८ को मे मा आर्सनलको प्रशिक्षकमा नियुक्त भएका थिए।